क्याम्पसको नीति तथा कार्यक्रम पारित

क्याम्पसको नीति तथा कार्यक्रम पारित

2025-05-25

 

क्याम्पसको नीति तथा कार्यक्रम पारित

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ। २०८२ जेठ ११ गते क्याम्पस प्रमुख एवम् व्यवस्थापन समितिका अध्यक्ष डा. नारायणप्रसाद गौतमको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकमा योजना प्रमुख सूर्यबहादुर क्षेत्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र आर्थिक प्रशासन प्रमुख केदारनाथ पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो भने प्रशासन प्रमुख मोहनप्रसाद शर्माले क्याम्पसको अवस्था र बैठकले पारित गर्नुपर्ने विषयहरूबारे प्रकाश पार्नुभएको थियो । प्रस्तावित नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको समीक्षासहित आगामी वर्षमा गर्नुपर्ने आर्थिक स्रोत तथा जनशक्ति व्यवस्थापन, डिजिटल प्रणालीको प्रवर्धन, शैक्षिक, प्रशासनिक एवम् भौतिक सुधारका योजनाहरू समेटिएको थियो ।

बैठकमा अध्यक्ष डा. नारायणप्रसाद गौतमले क्याम्पसको समग्र पक्षको अध्ययन गरी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याइएको र कार्यक्रममा विगतका कार्यहरूको निरन्तरताका साथै “पढ्दै कमाउँदै” जस्ता नयाँ कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो । यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई थप व्यावहारिक ज्ञान र अर्थोपार्जनमा सहयोग पुग्ने बताउनुभयो ।

बैठकमा पूर्व डीन प्रा.डा.वीरबहादुर खनाल क्षेत्री, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव जीवनाथ पौडेल, पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रा.डा. राजकुमार कोइराला, डा. रामप्रसाद शर्मा, डा. जीतनारायण साह, विद्यार्थी अभिभावक भेषराज बास्तोला र टीका गिरी, प्राध्यापक संघका सभापति उदयकुमार सिंह, कर्मचारी संघका सभापति विनोदबहादुर थापा, स्ववियुका अध्यक्ष अभिषेक शर्मालगायतका सदस्यहरूले नीति तथा कार्यक्रमबारे आ–आफ्ना सुझाव राख्नुभएको थियो । क्याम्पसको समग्र अवस्थाको संक्षिप्त प्रस्तुतिसहित बैठक सञ्चालन सदस्य–सचिव सुमन भट्टराईले गर्नुभएको थियो ।