पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू–२०८०’ सम्मेलन सम्पन्न

पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू–२०८०’ सम्मेलन सम्पन्न

2024-02-23

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसद्वारा आयोजित दुईदिने ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ विषयक सम्मेलन आउँदो वर्ष–२०८१ मा पोखरा विश्वविद्यालयमा गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्मेलन समापन गरिएको हो । समापन समारोहमा डा.देवकोटाले आगामी वर्षदेखि विश्वविद्यालयहरूसँग सहकार्य गरी अनुसन्धान कार्यलाई अघि बढाइने र उक्त अनुसन्धानको निष्कर्षहरूका आधारमा गण्डकी प्रदेश सरकार र स्थानीय तहको विकास योजना तयार पारिने बताए । 


दोस्रो दिनको प्राविधिक सेसनका प्रमुख वक्ता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले युवा पिँढीका शोधकर्ताहरूले सहकार्य र समन्वयका आधारमा नीतिगत पक्षमा टेवा पुग्ने अनुसन्धान, अन्तःविषयको प्रवर्धन, वैज्ञानिक प्रकाशनहरू, स्रोत परिचालन तथा व्यक्तिगत, पेसागत र व्यावसायिकताको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । 
पहिलो दिनको औपचारिक सत्रको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा दिलिप सुब्बाले गरेका थिए । सम्मेलन सुरु भएको दिनमा प्रमुख वक्ता नोबेल पुरस्कार विजेता डा सर रिचर्ड जोन रोबर्टले मन्तव्य राखेका थिए । सर रिचार्ड जोन रोबर्ट्स संयुक्त राज्य अमेरिकास्थित न्यू इङ्गल्याण्ड बायोल्याब्सका प्रमुख वैज्ञानिक हुन् । उनले सम्मेलनमा नेपाल आउन पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना जीवन भोगाइ, नोबेल पुरस्कारको यात्रा र सफलताका रोचक कथाहरू सुनाएका थिए । “मानिसले सफल हुनका लागि मेहनत गर्नुपर्छ र त्यसमा भाग्यले पनि साथ दिनुपर्छ । असफलताबाट सिक्दै अघि बढ्नुपर्छ जीवनको मर्म नै त्यही हो” भनेका थिए ।


दुई दिने सम्मेलन अवधिमा देश विदेशका विभिन्न अनुसन्धानकर्ताहरूले विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा आफूले प्राप्त गरेका ज्ञान, सीप, अनुभव तथा अनुसन्धानको निष्कर्षबारे सामूहिक रुपमा छलफल गरेका थिए । सम्मेलन अवधिमा विभिन्न ७६ ओटा प्रस्तुति र ३२ ओटा विषयगत पोष्टरहरू प्रस्तुत गरिएका थिए । वन विज्ञान अध्ययन संस्थानका डीन प्रा.डा. वीरबहादुर खनाल क्षेत्री र सहआयोजक संस्था जिपाष्टका निर्देशक डा. ढाकाराम भण्डारीले सम्मेलन सफल र फलदायी रहेकोमा खुसी व्यक्त गरेका थिए । पोखरा विश्वविद्यालयका अनुसन्धान निर्देशक नवराज धामीले आगामी वर्ष २०८१ को माघ महिनामा पोखरा विश्वविद्यालयमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनमा सहभागी हुनका लागि सबैलाई अनुरोध गरे । 
समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.देवकोटाले उत्कृष्ट पोष्टर प्रस्तोताहरूलाई नगद पुरस्कार तथा सम्मेलन तयारी समितिका सदस्यहरू, सहयोगी संघसंस्था एवं स्वयंसेवकहरूलाई प्रसंशापत्र प्रदान गरेका थिए । आयोजक समितिका अध्यक्ष एवं वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका प्रमुख प्रा.विनोदप्रसाद हेज्युले अनुसन्धानकर्ताहरूदेखि सहयोगी संघसंस्था, महानुभावहरू र स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरेका थिए । समापन समारोह पवित्रा झाले सञ्चालन गरेकी थिइन् ।